काठमाडौं । प्रहरीले थाइल्यान्डबाट ल्याइएको ११ केजी गाँजासहित तीन जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार साउन १६ गते राति क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएका दुई जनाको साथबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो। गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पन्जाबका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा हरियाणाका २२ वर्षीय साहिल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले थाइल्यान्ड–हङकङ हुँदै गाँजा नेपाल ल्याएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।











