काभ्रे । बनेपा नगरपालिका–६ बुडोलडाँडास्थित एक रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हाइवे सेकुवा कर्नर तथा थकाली रेष्टुरेन्टमा तास (जुवा) खेल भइरहेको गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले आकस्मिक छापा मारेको थियो।
छापाका क्रममा तास खेलिरहेका ६ जना र रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट एक बुक तास र नगद ९० हजार ३४५ बरामद गरिएको छ।
पक्राउ पर्नेमा रेष्टुरेन्ट सञ्चालक सन्तोष तिमिल्सिनासहित तेमाल गाउँपालिकाका पासाङ तामाङ, कुनसाङ तामाङ, रूपेश रानामगर, कुलबहादुर मगर, सुजन नेपाली र धनबहादुर घिताल रहेका छन्। प्रहरीले पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।











