भक्तपुर । समान कामका लागि समान ज्यालासहित विभिन्न सेवा–सुविधाको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २ हजार २ सय कर्मचारीले पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबारदेखि सानोठिमीस्थित सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।
कर्मचारीहरूले लामो समयदेखि समान प्रकृतिको काम गर्दै आए पनि स्थायी कर्मचारीको तुलनामा आफूहरूलाई पारिश्रमिक तथा सेवा–सुविधामा विभेद गरिएको गुनासो गरेका छन्।
उनीहरूले समान कामको समान ज्याला, स्थानीय तथा दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वको माग अघि सारेका छन्।
साउन १४ गतेदेखि देशभरका आङ्गिक शिक्षालयमा चरणबद्ध आन्दोलन गर्दै आए पनि व्यवस्थापनले माग सम्बोधनमा चासो नदेखाएपछि केन्द्रीय कार्यालय घेराउ गर्नुपरेको करार तथा ज्यालादारी केन्द्रीय सङ्घ समिति सह–संयोजक इ. युकेश गौतमले बताए। गौतमले कर्मचारीका मागलाई बेवास्ता नगरी वार्ता र संवादमार्फत तत्काल समाधान खोज्न सीटीईभीटी व्यवस्थापनसँग आग्रह गरेका छन्।













