बुधबार, भाद्र २४, २०८३
धुलिखेल अस्पतालको ‘स्याहार’ उत्कृष्ट २० मा, सचिन मकाजुले सुनाए सामाजिक उद्यमको कथा

काभ्रे । धुलिखेल अस्पतालद्वारा स्थापित सामाजिक उद्यम ‘स्याहार’ अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित क्यापस्टोन एक्सेलेरेटर अन्तर्गत देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यममा परेको छ।

देशभरबाट ८०० भन्दा बढी आवेदन परेको कार्यक्रममा सातै प्रदेशका २०० भन्दा बढी उद्यमीलाई प्रशिक्षण दिइएको थियो। व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता र सामाजिक प्रभावका आधारमा उत्कृष्ट २० उद्यम छनोट गरिएको हो।

स्याहारका तर्फबाट सचिन मकाजु श्रेष्ठले काठमाडौंमा आयोजित तीनदिने कार्यक्रममा स्याहारको सामाजिक उद्देश्य, उत्पादन, बजार विस्तार र भावी योजनाबारे प्रस्तुति दिएका थिए।

स्वास्थ्य सेवासँग जोडिएको नाफा वितरण नगर्ने सामाजिक उद्यम स्याहारले छाला तथा व्यक्तिगत हेरचाहका गुणस्तरीय उत्पादन विकास गर्दै आएको छ। उत्पादनबाट प्राप्त आम्दानी धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय अस्पतालमा आर्थिक रूपमा कमजोर बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

श्रेष्ठले स्याहारलाई व्यावसायिक रूपमा विस्तार गर्दै यसको सामाजिक प्रभाव पनि बढाउने योजना प्रस्तुत गरे। “उत्पादन जति धेरै मानिससम्म पुग्छ, आवश्यकतामा रहेका बिरामीको स्वास्थ्य सेवामा योगदान गर्ने हाम्रो क्षमता पनि त्यति नै बढ्छ,” उनले भने।

कार्यक्रममा उद्यमीहरूलाई बजार विस्तार, निर्यात, एआई, लगानी तयारी तथा अन्तर्राष्ट्रिय बजार प्रवेशलगायत विषयमा प्रशिक्षण दिइएको थियो। स्याहारले कार्यक्रममा आफ्ना उत्पादन प्रदर्शन गर्दै स्वास्थ्य सेवा, वैज्ञानिक अनुसन्धान र सामाजिक उद्यमशीलतालाई जोड्ने व्यवसायिक मोडल प्रस्तुत गरेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय