काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन्।
तनहुँमा जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै उनले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक खर्च धान्नुपर्ने अवस्था अन्त्य गर्न करको दायरा फराकिलो बनाइएको बताए।
उनका अनुसार सरकारको नियमित तथा अत्यावश्यक दायित्व करिब १३ खर्ब ५० अर्ब रुपैयाँ रहे पनि आम्दानी १२ खर्ब ५० अर्ब हाराहारी मात्रै छ। त्यसैले थोरै–थोरै योगदानबाट राजस्व बढाउँदै आफ्नै आम्दानीले विकास गर्ने नीति लिइएको उनको भनाइ छ।
वाग्लेले ऋण पनि नलिने, कर पनि नतिर्ने तर विकास भने जसरी पनि चाहिने सोचबाट माथि उठ्नुपर्ने बताए। सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई चलायमान बनाउँदै ६६ खर्बको अर्थतन्त्रलाई गति दिने लक्ष्य लिएको उनले जानकारी दिए।
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण निर्माणको काम पनि छिट्टै अघि बढाइने उनले बताए।











