काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट बिलबिजक नभएका करिब ११ किलो ६८२ ग्राम चाँदीका विभिन्न गरगहना तथा तयारी सामान प्रहरीले बरामद गरेको छ।
प्रहरी सहायक निरीक्षक (असई) रामेश्वर पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले बीपी राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा को १ च ८६६२ नम्बरको सुमो रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा मोरङ उर्लाबारी–६ का खगेन्द्र गजमेरले ल्याएको कार्टुन शंकास्पद देखिएपछि खोल्दा विभिन्न प्रकारका चाँदीका गरगहना तथा तयारी सामान फेला परेको प्रहरीले जनाएको छ। सामानको बिलबिजक माग्दा देखाउन नसकेपछि प्रहरीले सुमो, चालक पदमबहादुर विक र सामान ल्याउने गजमेरलाई नियन्त्रणमा लिएको हो ।
बरामद सामानमा औँठी ११५ थान, पाउजु ५४ जोर, पोते माला, ब्रासलेट, जन्तर, बुलाकी, झुम्का, सिक्री, खड्कुलोलगायत २१ प्रकारका सामग्री रहेका छन्।
मान्यता प्राप्त तराजुमा तौल गर्दा सामानको कुल तौल ११ किलो ६८२ ग्राम रहेको र अन्दाजी मूल्य ४७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान, सुमो, चालक र सामान ल्याउने व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।











