काभ्रे । जिल्लाको बनेपा नगरपालिका- ७ गोदामचोकमा स्कुटरलाई यात्रुवाहक बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा पनौती नगरपालिका- ८ का ६९ वर्षीय देवेन्द्रबहादुर खत्रीको मृत्यु भएको हो ।
शुक्रबार बिहान करिब सवा ११ बजे बनेपा- ७ चारदोबाटो चोकनजिक शुभकामना हलअगाडि बनेपा-पनौती सडकखण्डमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.३ख २०१४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२-०४२प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरकाे पछाडि सवार जिल्ला काभ्रे पनौती नगरपालिका– ८, मल्पी बस्ने वर्ष ६९ को देवेन्द्रबहादुर खत्रीलाई दुवै हातमा चोट र छातीमा भित्री चोट लागी उपचारका लागि शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
स्कुटरचालक जिल्ला काभ्रे पनौती- ८ का मृतकको छोरा ४१ वर्षीय सन्तोष खत्री सामान्य घाइते भएका थिए । दुवै सवारीसाधन र बसचालक जिल्ला काभ्रे पनौती– ३, कुशादेवीका ४० वर्षीय सुरेश सापकोटा प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
बसले सोही स्थानमा पार्किङ गरी राखेको बा.५१ प ३२० नम्बरको मोटरसाइकल र ON TEST TVS दुवै मोटरसाईकलमा पनि ठक्कर दिई क्षति भएको प्रहरीको भनाइ छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।











