काभ्रे । गौतम बन्धु राष्ट्रिय समाज जिल्ला समिति काभ्रेको जिल्ला भेला तथा प्रथम अधिवेशन बनेपामा सम्पन्न भएको छ। बनेपास्थित गौतम रिसोर्टमा आयोजित कार्यक्रममा काभ्रेका विभिन्न पालिकामा रहेका गौतम बन्धुहरूको उल्लेख्य सहभागिता रहेको थियो।
गौतम बन्धु राष्ट्रिय समाज केन्द्रीय समिति तथा बागमती प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यता रहेको थियो।
गौतम बन्धुहरूको मूल थलो गोतामकोट मानिँदै आएको छ। यही समुदायले २०७९ सालमा केन्द्रीय समिति गठन गरेपछि विभिन्न जिल्लामा जिल्ला तथा स्थानीय समितिहरू गठन गर्दै एकता, सहकार्य र सहभागिता विस्तार गर्दै आएको आयोजकले जनाएको छ।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतम, संस्थापक अध्यक्ष विदुर गौतम, बागमती प्रदेश समितिका पदाधिकारी, केन्द्रीय समितिका पदाधिकारी तथा विभिन्न क्षेत्रका गौतम बन्धुहरूको सहभागिता रहेको थियो। कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका गौतम बन्धुहरूको समेत उपस्थिति थियो।
अधिवेशनले गौतम बन्धु राष्ट्रिय समाज काभ्रेको जिल्ला समिति गठन गरेको छ। बागमती प्रदेश समितिका उपाध्यक्ष शिव गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा काभ्रेका विभिन्न पालिकामा रहेका गौतम बन्धुहरूलाई संगठित गर्दै सामाजिक एकता, सहकार्य र आपसी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।











