काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै घिसिङले “संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन सकिन्न” भन्दै जोखिममा रहेकाको उद्धार र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने बताएका हुन्।
रसुवा आफ्नो जीवनसँग विशेष रूपमा जोडिएको जिल्ला भएको उल्लेख गर्दै उनले चिलिमे, रसुवागढीलगायत जलविद्युत् आयोजना तथा पूर्वाधारमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गरे।
घिसिङले सरकारको नेतृत्वमा सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक एकजुट भएर संकटको सामना गर्नुपर्ने बताए। उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई समेत सहयोगका लागि अपिल गर्दै प्रभावित क्षेत्रका जलविद्युत्, प्रसारण लाइन तथा सडक पूर्वाधारको शीघ्र पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्। आवश्यक बौद्धिक तथा भौतिक सहयोग गर्न आफू प्रतिबद्ध रहेको पनि घिसिङले बताएका छन्।











