काठमाडौं । ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई प्रधानमन्त्री बालेन शाहले बधाई दिएका छन्।
प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत रवीन्द्रको सफलतालाई राष्ट्रकै गौरवको विषय भन्दै बधाई दिएका हुन्। साथै, नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै सहयोगका लागि अपिल गरेकोमा उनले रवीन्द्रलाई धन्यवाद दिएका छन्।
चीनको सांघाईस्थित अक्टागनमा भएको खेलमा रवीन्द्रले न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। जितपछि उनले नेपाल बाढीको कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेका थिए।











