काभ्रे । पक्षघातका कारण हिंडडुल गर्न नसक्ने चौरीदेउराली गाउँपालिका–१ की ५५ वर्षीया माईली वि.क.को घरमा बिहीबार एउटा यस्तो दृश्य देखियो, जहाँ सेवा लिन नागरिक कार्यालय पुगेनन्, बरु राज्यको सेवा नै नागरिकको घरआँगनमा पुग्यो।
जिल्ला प्रशासन कार्यालय काभ्रेको टोली माईलीको घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो। प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटासहितको टोलीले आवश्यक प्रक्रिया पूरा गरी नागरिकता हस्तान्तरण गरेको थियो।
नागरिकता लिन कार्यालयसम्म पुग्न नसक्ने अवस्थाकी माईलीका लागि प्रशासनको यो पहल केवल नागरिकता पाउनु मात्र थिएन, राज्य आफ्ना नागरिकको दुःख र अप्ठ्यारोमा साथमा छ भन्ने अनुभूति पनि थियो।
कार्यक्रममा नायब सुब्बा राजकुमार तामाङ, सहलेखापाल विवस खत्री, कार्यालय सहयोगी विदुर पराजुलीलगायतको सहभागिता थियो। चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं र वडा नं. १ का वडाध्यक्ष सुशील लामासमेत उपस्थित थिए।











