मंगलबार, भाद्र १६, २०८३
आफैं विपत्तिको घाउ बोकेका काभ्रेका स्थानीय सरकार रसुवाको पीडामा मल्हम लगाउँदै

काभ्रे । आफैंले भोगेको विपत्तिको पीडा अझै मेटिएको छैन। कतिपय संरचना पुनर्निर्माणकै क्रममा छन्, कतिपय परिवार अझै क्षतिको पीडाबाट बाहिरिन सकेका छैनन्। तर, यही अवस्थामा काभ्रेका स्थानीय सरकार र विभिन्न संघसंस्थाले रसुवामा आएको बाढी–पहिरोको महाविपत्तिमा सहयोगको हात अघि बढाएका छन्।

बेथानचोक गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाको विपद् कोषबाट १५ लाख तथा जनप्रतिनिधि, शिक्षक र कर्मचारीको सेवा सुविधा तथा पारिश्रमिकबाट २० लाख रुपैयाँ उपलब्ध गराइने अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।

गत वर्षको असोज १०–१२ गते काभ्रेमा आएको विनाशकारी बाढीपहिरोबाट बेथानचोकसहितको पालिकाहरू नराम्ररी प्रभावित भएका थिए। सडक, विद्युत्, खानेपानी र सञ्चार संरचनामा ठूलो क्षति पुगेको थियो। क्षतिग्रस्त कतिपय संरचना अझै पूर्ण रूपमा पुनर्निर्माण हुन सकेका छैनन्।

तर आफ्नो पीडा बिर्सिएर बेथानचोकले रसुवाका पीडितका लागि सहयोग घोषणा गरेको छ।

त्यस्तै पनौती नगरपालिकाले ३० लाख रुपैयाँ, रोशी गाउँपालिकाले १० लाख, धुलिखेल नगरपालिकाले १० लाख, चौरीदेउराली गाउँपालिकाले १० लाख र पाँचखाल नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। अन्य पालिकाहरूले पनि कार्यपालिका बैठकमार्फत सहयोग घोषणा गर्ने तयारी गरिरहेका छन्।

स्थानीय तहसँगै काभ्रेका संघसंस्था र निजी क्षेत्र पनि राहत अभियानमा जोडिएका छन्। नेपाली कांग्रेस काभ्रेले केन्द्रिय समितिमार्फत सरकारलाई सहयोग गर्ने उद्देश्यले १७ लाख ६६ हजार रुपैयाँ बुझाएको जनाएको छ।

सामुदायिक साकोस पनौतीले ५ लाख, मनकामना साकोसले १ लाख ५० हजार, अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालय बनेपाले ५ लाख, चित्रन्य हार्डवेयर बनेपाले ३ लाख ३३ हजार, पनौती–२ ले १ लाख ५० हजार, पनौती–८ ले ८० हजार, बुडोल सामुदायिक साकोसले २ लाख ५१ हजार, नमोबुद्ध–६ को चरङ्गे साकोसले १ लाख ११ हजार तथा धुलिखेलको अटल पाँचकुण्ड साकोसले १ लाख ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।

काभ्रेका विभिन्न वडा तथा संस्थाहरूले तीजलगायतका कार्यक्रम स्थगित गरेर समेत राहत रकम जुटाउन थालेका छन्। व्यक्तिगत रूपमा सहयोग गर्नेहरूको संख्या पनि बढ्दै गएको छ।

आफैं विपत्तिको पीडा भोगेका काभ्रेलीहरू अहिले रसुवाको पीडामा साथ बनेर उभिएका छन्। तत्काल बेपत्ताको खोज तथा उद्धार र जीवितहरूको उद्धारलाई प्राथमिकता दिन आफन्तहरूले सरकारसँग आग्रह गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय