काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदै छ। मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आइतबार साँझसम्म भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३४२ जनाको शव फेला परेको छ भने ३ हजार ९९२ जना अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ वटा शव पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्। हालसम्म फेला परेका शवमध्ये १ हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
बाढीपछि हालसम्म ९ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक १ हजार १८१ जना र मृतकका आफन्त १ हजार १९५ जना गरी २ हजार ३७६ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।











