बिहिबार, भाद्र २५, २०८३
पीडितको आक्रोशलाई अन्यथा नलिनुस्, सामाजिक सञ्जालमा दुर्व्यवहार सह्य छैन : रवि लामिछाने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको भन्दै पीडितको भावनालाई सम्मान गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले भोटेकोशी विपत्तिको समयमा सबै पक्ष एकजुट भएर उद्धार र राहतमा लाग्नुपर्ने बताए। सरकारले दिनरात नभनी खोज तथा उद्धारको काम गरिरहेको उल्लेख गर्दै उनले पीडाको अवस्थामा नागरिकबाट आउने गुनासोलाई अन्यथा लिन नहुने बताए।

पीडितमाथि सामाजिक सञ्जालमा अवाञ्छित तथा आपत्तिजनक टिप्पणी गर्ने कार्य भने कुनै हालतमा स्वीकार्य नहुने उनले स्पष्ट पारे। रास्वपाका कुनै सदस्य वा कार्यकर्ता यस्तो गतिविधिमा संलग्न भएको पाइए कारबाही गरिने उनको भनाइ थियो।

लामिछानेले विपद् व्यवस्थापनमा सरकारलाई प्रतिपक्षबाट आउने रचनात्मक सुझाव ग्रहण गर्न आग्रह गर्दै विपद्को नाममा राजनीतिकरण नगर्न सबै राजनीतिक दललाई आह्वान गरे।

उनले जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिमा ज्यान गुमाउनेहरू जलवायु अन्यायका पीडित भएको बताए। नेपालले विश्व समुदायसमक्ष जलवायु न्यायका लागि बलियो र साझा आवाज उठाउनुपर्नेमा उनले जोड दिए।

उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्ता तथा सहयोगी निकायको प्रशंसा गर्दै उनले मित्रराष्ट्र, निजी क्षेत्र, सञ्चार क्षेत्र र गैरआवासीय नेपाली समुदायको सहयोगको पनि प्रशंसा गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय