काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का बेला ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण तथा विस्तार गर्ने निर्णय गरेको छ।
मन्त्री निशा मेहताका अनुसार विगतका विपद् र पछिल्लो भोटेकोशी बाढीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेपछि भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्न लागिएको हो। निर्णयअनुसार कोशी, नारायणी, गजेन्द्र नारायण सिंह, भरतपुर, भेरी र डडेलधुरा अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तार गरिनेछ।
त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने पूर्वाधार विकास गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यसले विपद्का बेला शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा कानुनी प्रक्रिया व्यवस्थित गर्नुका साथै फरेन्सिक र मेडिको–लिगल सेवा प्रभावकारी बनाउन सहयोग पुग्नेछ।











