बिहिबार, भाद्र २५, २०८३
विपत्तिको मौका छोपेर कालोबजारी गर्नेलाई कडा कारबाही हुन्छ : सभापति अन्सारी

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले विपत्तिको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा अस्वाभाविक मूल्यवृद्धि गर्ने जो–कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको बताएका छन्।

बाढी–पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौँमा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको उल्लेख गर्दै अन्सारीले प्राकृतिक विपत्तिका कारण भएको आपूर्ति संकटको फाइदा उठाएर कालोबजारी गर्ने काम भने कुनै हालतमा क्षम्य नहुने बताए।

उनका अनुसार बजार अनुगमनलाई आक्रामक बनाउन उद्योग मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइसकिएको छ। आवश्यक परे थप जनशक्ति परिचालन गरेर भए पनि कालोबजारी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

अन्सारीले तत्कालीन राहतसँगै आपूर्ति प्रणालीलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्ने रणनीतिमा समिति केन्द्रित रहेको बताए। संकटको समयमा राज्य, व्यवसायी र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको भन्दै उनले उपभोक्तालाई सास्ती दिने र अनुचित लाभ लिन खोज्नेलाई सरकारले तत्काल दण्डित गर्नुपर्नेमा जोड दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय