रुकुम । रुकुम पश्चिममा आज बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका–६ को देउता खोलामा कोटगाउँबाट खलङ्गातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार जिपमा ११ जना यात्रु थिए। दुर्घटनामा चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चार जना गम्भीरसहित नौ जना घाइते भएका छन्। घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बोलाउन पहल भइरहेको छ।











