भक्तपुर । काठमाडौं उपत्यकाबाट नजिकै रहेको नगरकोटमा ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र मौलिक स्वादको अनुभव प्रदान गर्ने उद्देश्यले नगरकोट कम्युनिटी होमस्टे सञ्चालनमा आएको छ।
प्राकृतिक सौन्दर्यका लागि परिचित नगरकोटमा रहेको होमस्टेले पर्यटकलाई शान्त वातावरणसँगै स्थानीय परिवारको आत्मीय आतिथ्य, परम्परागत परिकार तथा गाउँले जीवनशैलीको प्रत्यक्ष अनुभव गराउने लक्ष्य राखेको छ।
होमस्टेमा आउने पाहुनाले मनमोहक पहाडी दृश्यको अवलोकनसँगै स्थानीय परिकारको स्वाद लिन, स्थानीय संस्कृति बुझ्न र प्रकृतिसँग रमाउँदै छोटो यात्रा तथा घुमफिर गर्न सक्नेछन्।
होमस्टे सञ्चालकका अनुसार होमस्टे केवल बसोबासको माध्यम नभई स्थानीय समुदायको जीवनशैली, संस्कृति र अर्थतन्त्रसँग पर्यटकलाई जोड्ने माध्यमसमेत हो। यसबाट स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र समुदायको आर्थिक सशक्तीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
‘गाउँ चिनौँ, स्थानीय स्वाद चाखौँ, समुदायलाई समृद्ध बनाऔँ’ भन्ने भावनासहित अघि बढेको नगरकोट कम्युनिटी होमस्टेले नगरकोट भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आत्मीय गन्तव्य बन्ने लक्ष्य लिएको छ।











