काठमाडौं । नेपालमा आयोजना हुन लागेको ‘पब्जी मोबाइल ग्लोबल ओपन’ (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदारका रूपमा भायानेट कम्युनिकेसन्सले सहकार्य गरेको छ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार उपलब्ध गराउने जिम्मेवारी भायानेटले लिएको हो।
व्यावसायिक ई-स्पोर्ट्समा खेलाडीको सीपसँगै नेटवर्कको स्थिरता, निरन्तरता र लो ल्याटेन्सीले पनि खेलको नतिजामा प्रत्यक्ष प्रभाव पार्छ। केही मिलिसेकेन्डको ढिलाइ वा कनेक्टिभिटीमा आएको अवरोधले समेत निर्णायक क्षणमा खेलको परिणाम बदल्न सक्ने भएकाले पीएमजीओजस्तो अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उच्चस्तरीय नेटवर्क पूर्वाधार महत्त्वपूर्ण मानिन्छ।
भायानेटले यस साझेदारीलाई ई-स्पोर्ट्स क्षेत्रमा आफ्नो बढ्दो संलग्नताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। कम्पनीले यसअघि पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा पनि आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा दिएको थियो।
कम्पनीका अनुसार पीएमजीओमार्फत आफ्ना ग्राहकले दैनिक अनुभव गर्ने नेटवर्कको विश्वसनीयता र स्थिरतालाई अन्तर्राष्ट्रियस्तरको ई-स्पोर्ट्स आयोजनामा समेत प्रदर्शन गर्ने अवसर प्राप्त भएको छ।











