काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँ, तिहार तथा छठको अवसर पारेर ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुटसँगै स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, योजनामा हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले तीन लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । त्यस्तै, स्क्र्याच कार्डमार्फत पाँच लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसरसमेत उपलब्ध हुनेछ ।
गाडी खरिद गर्ने ग्राहकलाई कम्पनीले एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र एक वर्षको निःशुल्क सडक करको सुविधा पनि उपलब्ध गराएको जनाएको छ । यसले चाडपर्वका समयमा नयाँ हुन्डाई गाडी खरिद गर्ने ग्राहकको सुरुवाती खर्चलाई थप सहज बनाउने कम्पनीको दाबी छ ।
हुन्डाईका गाडीमा तीन वर्षको वारेन्टी तथा ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी सुविधाले ग्राहकलाई गाडी खरिदपछि पनि थप मूल्य, सुविधा र सहजतासहितको स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ भदौ २३, २०८३ देखि लागू भएको कम्पनीले जनाएको छ । दसैँ, तिहार तथा छठको अवसरमा ल्याइएको योजनाका सुविधा लिन ग्राहकले नजिकैको हुन्डाई शोरुममा सम्पर्क गर्न सक्नेछन् ।











