मंगलबार, भाद्र ३०, २०८३
बाढीपीडितको राहतका लागि पाल्पाका स्थानीय तह जुटे, १ करोड ७१ लाख सहयोग गर्ने

पाल्पा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पाल्पाका स्थानीय तहहरूले रु १ करोड ७१ लाखभन्दा बढी आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।

रैनादेवी छहरा, माथागढी, तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली र निस्दी गाउँपालिका तथा रामपुर र तानसेन नगरपालिकाले बाढीपीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेका हुन्।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानीय तह, सङ्घसंस्था तथा अन्य क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम जारी छ। यही क्रममा पाल्पाका स्थानीय तहहरूले पनि विपद् प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्।

रैनादेवी छहरा गाउँपालिकाले रु ३५ लाख ४४ हजार ३४५ सहयोग गर्ने निर्णय गरेको छ। उक्त रकम स्थानीय विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट प्राप्त हुने सहयोगसँगै तीज गीत कार्यक्रमका लागि छुट्याइएको बजेट कटौती गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताउनुभयो।

उहाँका अनुसार विपद्को समयमा मानवीय सहयोग र स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

यसैगरी, माथागढी गाउँपालिकाले रु ३४ लाख ४६ हजार, रिब्दीकोटले रु ३१ लाख ५० हजार, पूर्वखोलाले रु २९ लाख ७५ हजार ९७२, बगनासकालीले रु २ लाख ५० हजार, रामपुर नगरपालिकाले रु २ लाख ५० हजार, रम्भाले रु २ लाख ५० हजार र निस्दी गाउँपालिकाले रु १ लाख राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

रामपुर नगरपालिकाले बाढीपीडितका लागि सहयोग जुटाउन प्रत्येक वर्ष आयोजना गर्दै आएको उपप्रमुख तीज विशेष कार्यक्रमसमेत स्थगित गरेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय पाल्पामा भदौ १३ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बाढीपीडितका लागि राहत सामग्री सङ्कलन तथा वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन एकद्वार प्रणाली अपनाउने निर्णय गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय