काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनबाट सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
मुस्ताङको जोमसोममा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का अवसरमा पठाउनुभएको शुभकामना सन्देशमार्फत उहाँले जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति तथा समाधानका उपायबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताउनुभएको छ। साथै, हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर प्रभावबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उहाँको सन्देशमा उल्लेख छ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाल पग्लिने, हिमचट्टान टुक्रिने, हिमताल तथा हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन हुनेजस्ता समस्या देखिन थालेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। यस्ता परिवर्तनले स्थानीय जनजीवनसँगै कृषि, जैविक विविधता र वातावरणमा समेत गम्भीर असर पारिरहेको उहाँको भनाइ छ।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका असर सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभएको छ। स्थानीय तहबाटै जलवायु जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका प्रभावकारी कार्यक्रम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
घरपझोङ गाउँपालिकाको आयोजनामा जोमसोममा सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुभएको थियो। सम्मेलनमा देशभरका विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ।
हालै हिमपहिरोपछि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधन तथा भौतिक क्षति भएको र संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी भइरहेका बेला आयोजना गरिएको जलवायु सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ।











