शुक्रबार, आश्विन ०२, २०८३
जेनजी सांसदलाई प्रधानमन्त्री बालेनको आग्रह– ‘स्वदेशमै रोजगारी सिर्जना गर्न अग्रसर हुनुहोस्’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियाका क्रममा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानमा मात्रै सीमित नभई युवालाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न आग्रह गर्नुभएको हो।

उहाँले त्यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने, समस्या समाधानमुखी दृष्टिकोण अपनाउने तथा पुराना र अव्यावहारिक सोचलाई त्याग्न सुझाव दिनुभएको छ।

प्रधानमन्त्री शाहले राजनीतिलाई मात्रै पेशा नबनाई आयआर्जनको छुट्टै व्यावसायिक आधार तयार गर्न पनि सांसदहरूलाई आग्रह गर्नुभएको छ। दीर्घकालीन रूपमा आत्मनिर्भर बन्दै अरूका लागि प्रेरणाको स्रोत बन्नुपर्ने उहाँको भनाइ थियो।

अन्तरक्रियामा सहभागी जेनजी उमेर समूहका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउने र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय