शुक्रबार, आश्विन ०२, २०८३
सरकारद्वारा १३ देशका लागि राजदूत सिफारिस, भारत र चीनमा पाण्डे र शर्माको नाम

काठमाडौं । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको हो। सरकारको सिफारिस अब संसदीय सुनुवाइका लागि पठाइनेछ।

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित देशबाट अग्रिमो स्वीकृति लिन पठाइनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया रहेको छ।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ।

त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा तथा साउदी अरबका लागि गिरीबहादुर सुनारको नाम सिफारिस भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय