काभ्रे । धुलिखेल नगरपालिका–२ ठाडोखोला मूलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने आधुनिक प्रविधिसहितको खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोग तथा चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठान सहयोगमा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको हो ।
करिब रु दुई करोड लागतमा निर्माण गरिएको केन्द्रले दैनिक एक लाख ५० हजार लिटरसम्म पानी शुद्धीकरण गर्न सक्ने क्षमता रहेको जनाइएको छ । यसबाट धुलिखेल नगरपालिका–२ का करिब एक हजार २०० जनालाई खानेपानी उपलब्ध गराउने गरी परियोजना सञ्चालन गरिएको हो । केन्द्रबाट ११४ घरधुरीमा ‘एक घर एक धारा’ अवधारणाअनुसार खानेपानी पुर्याउने व्यवस्था गरिएको धुलिखेल–२का वडाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।
नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत टिष्टा प्रसाईँ जोशीका अनुसार नेपालमा पहिलोपटक यस प्रकारको प्रविधि भित्र्याइएको हो । सन् २०२३ मा सुरु गरिएको परियोजना सन् २०२६ मा सम्पन्न भएको उनले जानकारी दिए । “रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने भएकाले यो प्रविधि ग्रामीण तथा पर्याप्त प्रशोधन सुविधा नपुगेका क्षेत्रमा उपयोगी हुन सक्छ,” उनले भने ।
प्रशोधन केन्द्रमा पानीमा रहेका जीवाणु तथा अन्य सूक्ष्म कीटाणु निष्क्रिय गर्नुका साथै धमिलोपन हटाउन सहयोग गर्ने प्रविधि जडान गरिएको छ । शुद्धीकरण प्रक्रियामा इलेक्ट्रोड, म्याग्नेटिक स्यान्ड र अल्ट्राभायोलेट (यूभी) लाइट प्रयोग हुने जोशीले जानकारी दिए ।
परियोजना कार्यान्वयनमा नास्टले प्राविधिक समन्वय तथा सहजीकरण गरेको जनाएको छ । करिब तीन वर्षमा निर्माण सम्पन्न भएको केन्द्र शुक्रबार धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरणपछि केन्द्रको सञ्चालन, रेखदेख तथा मर्मतसम्भारको जिम्मेवारी नगरपालिकाले लिनेछ ।
धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जगमले प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीयवासीलाई सुरक्षित खानेपानी उपलब्ध गराउन सहज हुने बताए । “स्थानीय मुहानको पानी प्रशोधन गरी एक घर एक धारामार्फत घरघरमा खानेपानी पुर्याउने उद्देश्यले आयोजना अघि बढाइएको हो,” उनले भने ।
स्थानीयस्तरमा सुरक्षित खानेपानीको पहुँच विस्तारसँगै पानीको गुणस्तर सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यवाहक नगरप्रमुख जगमले बताए ।











