काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमण उपलब्धिपूर्ण रहेको जनाएको छ।
आइतबार पार्टी सचिवालय बैठकपछि रास्वपा प्रवक्ता जगदिश खरेलले अर्थमन्त्री वाग्लेले भारत भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेको जानकारी दिँदै भ्रमण उपलब्धिपूर्ण र सकारात्मक रहेको बताए।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले बसेको कोठामा भारतीय झण्डा मात्र देखिएको विषयमा उठेको प्रश्नबारे पनि खरेलले स्पष्टीकरण दिए। उनका अनुसार भारतीय वित्तमन्त्रीको कार्यकक्षमा भएको अनौपचारिक भेटका क्रममा नेपालको झण्डा नराखिएको हो।
खरेलले औपचारिक द्विपक्षीय वार्ताका क्रममा भने नेपाल र भारत दुवै देशका झण्डा राखिएको स्पष्ट पारे। उनले झण्डाको विषयभन्दा भ्रमणबाट हासिल भएका उपलब्धि महत्वपूर्ण रहेको बताए।











