काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने तयारीस्वरूप प्रारम्भिक मतदाता सूची सार्वजनिक गरेको छ।
आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको सूचीमा भदौ १५ गतेसम्म मतदाता नामावलीमा दर्ता भएका नागरिकको विवरण राखिएको जनाएको छ।
सूचीमा आफ्नो नाम, थर, जन्ममिति वा अन्य विवरण गलत भए सच्याउन तथा अयोग्य व्यक्तिको नाम हटाउन असोज १२ गतेसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ।
आयोगले नामावलीसम्बन्धी विवरण सच्याउनका लागि अनलाइनबाट निवेदन दिने सुविधा उपलब्ध गराएको छ।
मतदाता नामावली संकलन तथा अद्यावधिक प्रक्रियाअन्तर्गत एनआईडीमा आबद्ध नागरिकले अनलाइनमार्फत तस्बिर र बायोमेट्रिक्स विवरण पेस गर्न सक्नेछन् भने एनआईडीमा आबद्ध नभएका नागरिकले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा पुग्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।











