काठमाडौँ । सांसदहरूले प्रतिनिधिसभाको विशेष समयमा बाढी प्रभावितको उद्धार, न्यायपालिकाको सुधार र हवाई सुरक्षालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राप्रपा सांसद ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीमा परेकाहरूको उद्धार कार्य प्रभावकारी बनाउन माग गरे। उनले सुरुङभित्र फसेका नागरिकको समयमै उद्धार हुन नसक्दा जीवित उद्धारको सम्भावना गुमेको र पछि शव मात्रै निकाल्नुपरेको बताए।
रास्वपाका सांसद यज्ञमणी न्यौपानेले न्यायालयलाई विधि र समयअनुकूल बनाउनुपर्नेमा जोड दिए। उनले न्यायपालिकाको पुनःसंरचना गर्न तथा न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न आग्रह गरे।
कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले हवाई सुरक्षामा कुनै सम्झौता गर्न नहुने बताए। नेपाल वायुसेवा निगमलाई व्यवस्थित बनाउन सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो।











