काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत शर्माको बुधबार साँझ ६ः५० बजे निधन भएको हो।
वि.सं. १९९७ साल साउनमा सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालको प्राविधिक तथा उच्च शिक्षा क्षेत्रको विकास र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो भने बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका थिए ।
नेपालमा प्राविधिक शिक्षाको विकासका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि शर्मा त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए । त्यसपछि निजी क्षेत्र तथा समुदायको सहभागितामा स्वायत्त विश्वविद्यालयका रूपमा काठमाडौं विश्वविद्यालय स्थापना गर्ने अभियानको नेतृत्व गरे ।
शर्मा सन् १९९१ देखि २०१२ सम्म २१ वर्ष लगातार काठमाडौं विश्वविद्यालयको उपकुलपति रहनुभयो। यस अवधिमा उहाँले ६ कार्यकाल विश्वविद्यालयको नेतृत्व गरेको थियो। पछिल्लो समय उहाँ काठमाडौं विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको अध्यक्षका रूपमा रहेका थिए ।
शर्माको निधनप्रति विभिन्न शिक्षाविद्, राजनीतिक नेतृत्व तथा सर्वसाधारणले दुःख व्यक्त गरेका छन्। उनको निधनले नेपालको शिक्षा तथा प्राज्ञिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।
पारिवारिक स्रोतका अनुसार शर्माको पार्थिव शरीर बिहीबार अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंको बालकुमारीस्थित केयू स्कुल अफ म्यानेजमेन्टमा राखिनेछ। सोही दिन उनको दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।











