काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनञ्जय रेग्मीले पछिल्लो समय विकसित नयाँ मनसुनी प्रणालीको प्रभावबाट नागरिकको जीउधनको सुरक्षा गर्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद रेग्मीले नागरिकलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गरेर मात्र जीउधनको सुरक्षा गर्न नसकिने बताए। उनले घरवरपरको जमिन सुरक्षित भए–नभएको हेर्न तथा पहाडी क्षेत्रमा जमिन चिरा पर्ने, धसिने वा फुल्ने तथा नयाँ ठाउँमा पानीको मुहान फुट्नेजस्ता पहिरोका पूर्वसङ्केतबारे सचेत रहन आग्रह गरे।
पहिरोका पूर्वसङ्केत देखिएमा घरमै बसिरहनुभन्दा समयमै सुरक्षित स्थानमा सर्नुपर्ने बताउँदै उनले आगामी केही दिन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाढीको चेतावनीसँगै पहिरोका पूर्वसङ्केतबारे सरल भाषामा सूचना प्रवाह गर्न सरकारको ध्यानाकर्षण गराए।
बैठकमा रास्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले आपत्कालीन स्वास्थ्य उद्धारसम्बन्धी विद्यमान कानुन र प्रक्रियाको पुनरावलोकन गरी आकस्मिक अवस्थामा प्रत्येक नागरिकले उपचार पाउने हक सुनिश्चित गर्न माग गरे।
त्यस्तै, सांसद टीका सङ्ग्रौलाले कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई पदीय मर्यादाविपरीत थर्काएको भनिएको घटनासँग सम्बन्धित अडियो सामग्रीबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।











