काठमाडौँ । नेपाल प्रहरीले असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवागमन रोकिएको छ। त्यस्तै, कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं आउने सडकमा बेलुका ७ बजेदेखि, बीपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म र नारायणगढ–मुग्लिन सडकखण्डमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
सम्भावित बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरिएको प्रहरीले जनाएको छ।











