काभ्रे । अविरल वर्षापछि आएको पहिरो र लेदोका कारण काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भन्दै प्रहरीले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
यसैबीच, पनौतीस्थित रोशी खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाअनुसार रोशी खोलाको जलसतहले सतर्कता तह पार गरेको हो।











