काभ्रे । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने सबै सवारीसाधनलाई धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ।
वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो तथा लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए।
उनका अनुसार नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो खसेको छ। चौकीडाँडामा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको छ।
राजमार्ग अवरुद्ध भएपछि काभ्रेभञ्ज्याङ र भकुण्डेमा समेत सवारीसाधन होल्ड गरिएको प्रहरीले जनाएको छ। निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन समय लाग्ने भन्दै प्रहरीले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।











