काभ्रे । अविरल वर्षाका कारण नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नम्बर २ मा असोज ९ गतेका लागि तोकिएको मनोनयन तथा असोज १० गतेका लागि तय गरिएको प्रदेशसभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको हो।
क्षेत्रीय सभापति महेश खरेलका अनुसार मौसम विभागलगायत विभिन्न निकायले लगातार वर्षाको सम्भावना रहेकाले सतर्क रहन सूचना जारी गरेपछि अधिवेशन स्थगित गरिएको हो। नेपाली कांग्रेसको केन्द्रीय समितिले समेत मौसमको अवस्था हेरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने म्यान्डेट दिएको उनले बताए। अधिवेशनको नयाँ मिति अर्को सूचना जारी गरी जानकारी गराइनेछ।
यसैबीच, काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को अधिवेशन पनि स्थगित गर्ने तयारी गरिएको छ। यसबारे निर्णय गर्न आज पदाधिकारी बैठक बस्दैछ। क्षेत्रीय सभापति दिनेश लामाका अनुसार असोज ११ गतेसम्म वर्षाको सम्भावना रहेकाले अधिवेशन स्थगित हुनसक्नेछ।











