काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रहरी नायब निरीक्षक (प्रनानि) रामकुमार बुढाथोकीलाई २०८३ साल भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरी सम्मान गरेको छ।
इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीमा कार्यरत बुढाथोकीले कार्यालयको जिन्सी व्यवस्थापन, अभिलेख अद्यावधिक तथा राजस्व दाखिलामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

उनले विभिन्न कारणले बेवारिसे तथा स्वामित्व नखुलेका २९७ थान मोटरसाइकलको व्यवस्थापन तथा लिलाम बिक्री प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरी ४१ लाख २० हजार रुपैयाँ राजस्व दाखिला गराउन योगदान पुर्याएका थिए।
त्यस्तै, कार्यालयमा रहेका हातहतियार, गोलीगठ्ठा, असहाय तथा अन्य जिन्सी सामग्रीको रजिस्टर, कम्प्युटर र सफ्टवेयरमा अभिलेख व्यवस्थित तथा अद्यावधिक गर्नसमेत उनले योगदान गरेका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले प्रमाणपत्रसहित बुढाथोकीलाई सम्मान गर्दै उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।











