शनिबार, आश्विन १०, २०८३
पहिरोबाट खसेको ढुंगा लागेर डोल्पामा एक जनाको मृत्यु, एक घाइते

डोल्पा । डोल्पामा पहिरोबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडागाउँको रावलवाडा भन्ने स्थानमा त्रिपालको गोठमा सुतिरहेका ३३ वर्षीय मनरूप केसीलाई माथिबाट खसेको ढुंगाले लागेको थियो। शुक्रबार राति करिब पौने १० बजे घाइते भएका केसीलाई उपचारका लागि लिखु स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

ढुंगा लागेर ३८ वर्षीय चन्द्ररूप केसी पनि सामान्य घाइते भएका छन्। ढाडमा चोट लागेका उनको सामान्य उपचारपछि घर फर्किएका छन्।

घटनास्थल डोल्पा सदरमुकाम दुनैबाट करिब चार घण्टाको दूरीमा रहेकाले मनरूपको मृत्युको खबर आज बिहान मात्रै प्राप्त भएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय