सोमबार, आश्विन १२, २०८३
काभ्रेका चार पालिकामा डेङ्गी सङ्क्रमण, पाँचखालमा सबैभन्दा बढी

बनेपा (काभ्रे)। काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनाको अवधिमा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार गत साउन १ गतेदेखि असोज १२ गतेसम्म जिल्लामा ४१ जनामा सङ्क्रमण देखिएको हो।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये २० पुरुष र २१ महिला रहेका छन्। पछिल्लो २४ घण्टामा भने जिल्लाका कुनै पनि स्थानीय तहमा नयाँ सङ्क्रमित थपिएका छैनन्।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी शिशिर पुडासैनीका अनुसार जिल्लाका १३ स्थानीय तहमध्ये चारवटा पालिकामा मात्रै डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा बढी पाँचखाल नगरपालिकामा २१ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये ११ पुरुष र १० महिला रहेका छन्।

त्यस्तै, बनेपा नगरपालिकामा १३ जना, मण्डनदेउपुर नगरपालिकामा छ जना र नमोबुद्ध नगरपालिकामा एक पुरुषमा सङ्क्रमण पुष्टि भएको छ। बनेपाका सङ्क्रमितमध्ये छ पुरुष र सात महिला छन् भने मण्डनदेउपुरमा दुई पुरुष र चार महिला सङ्क्रमित भएका छन्।

धुलिखेल र पनौती नगरपालिकासहित जिल्लाका अन्य नौ स्थानीय तहमा हालसम्म डेङ्गी सङ्क्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित नथपिए पनि मनसुनका कारण डेङ्गीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सूचना अधिकारी पुडासैनीले आग्रह गरेका छन्। उनले घरवरपर पानी जम्न नदिन, लामखुट्टेको बासस्थान नष्ट गर्न तथा ‘खोजी र नष्ट गर’ अभियान सञ्चालन गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय