काठमाडौँ । साताको सेयर कारोबारमा नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६ दशमलव ४७ अंकले घटेर दुई हजार ६१३ दशमलव ३३ विन्दुमा पुगेको हो।
आज नेप्सेमा शून्य दशमलव ६२ प्रतिशतको गिरावट देखिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि एक दशमलव ३४ अंकले घटेर ४६७ दशमलव ६७ विन्दुमा सीमित भएको छ।
यसैगरी, फ्लोट सूचक एक दशमलव ११ अंकले घटेर १८० दशमलव शून्य सात विन्दुमा झरेको छ। सेन्सेटिभ फ्लोट सूचक पनि शून्य दशमलव ४८ अंकले घटेर १५७ दशमलव ८८ विन्दुमा कायम भएको छ।
आज बजारमा एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयरको खरिदबिक्री भएको छ। उक्त कारोबारबाट पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूह मात्रै बढेको छ। उक्त उपसमूह शून्य दशमलव २३ प्रतिशतले बढ्दा अन्य १२ उपसमूहको परिसूचक घटेको छ।
आज ४९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २२४ कम्पनीको मूल्य घटेको छ। छ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर र प्राइम बैंक डिबेञ्चरका लगानीकर्ताले कमाउँदा हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डका लगानीकर्ताले गुमाएका छन्।











