सोमबार, आश्विन १२, २०८३
बाढीपहिरोले गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध, आवागमन प्रभावित

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन्।

सडक अवरुद्ध हुँदा जिल्लामा यातायात सेवा प्रभावित हुनुका साथै सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।

जिल्लाको तेस्रो मुख्य सडकका रूपमा रहेको तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ।

उक्त सडकखण्डअन्तर्गत मुसिकोट नगरपालिका–३ स्थित ताउखोलामा सडक माथिबाट पहिरो खसेपछि आइतबारदेखि यातायात पूर्ण रूपमा ठप्प भएको हो।

त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खसेपछि पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन।

करिडोरको गुल्मी खण्डका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएकाले यातायात सञ्चालनमा कठिनाइ भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमकिरण बोगटीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित क्षेत्रमा स्काभेटर परिचालन गरी पहिरो हटाउने प्रयास भइरहेको छ।

यसैगरी, रुद्रवेणी–वामीटक्सार सडकखण्ड पनि चार दिनदेखि अवरुद्ध छ। उक्त सडकअन्तर्गत चन्द्रकोट गाउँपालिका–७ स्थित सिस्नेभीरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको हो।

वर्षा रोकिएपछि स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीको सहयोगमा डोजर तथा एक्साभेटर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ।

त्यस्तै, इन्द्रेगौँडा–रातडाँडा सडकखण्ड पनि अवरुद्ध बनेको छ। वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकमा यातायात सञ्चालन हुन नसक्दा सर्वसाधारण प्रभावित भएका छन्।

मुख्य तथा ग्रामीण सडक अवरुद्ध हुँदा चाडपर्वका बेला आवतजावत, दैनिक प्रशासनिक कामकाज तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएको छ।

स्थानीय तहहरूले अवरुद्ध सडक खुलाउने काम सुरु गरिसकेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार मङ्गलबारसम्म जिल्लाका अधिकांश अवरुद्ध सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले भारी वर्षा तथा बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै शुक्रबारदेखि जिल्लाभर लगाएको सवारी आवागमनको रोक आजदेखि हटाएको छ।

बाढीपहिरोका कारण जिल्लाभर २४१ घरधुरी जोखिममा परेका छन् भने करोडौँ रुपैयाँबराबरको भौतिक क्षति भएको बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय