काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी दिवंगत तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारको शिक्षा, रोजगारी र भरणपोषणलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।
बिहीबार अर्थ मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग भेट गर्दै उहाँले विपत्तिले पुर्याएको क्षति अपूरणीय भए पनि परिवारको आगामी जीवन सहज बनाउन सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो।
परिवारका सदस्यहरूले आफ्ना समस्या तथा आवश्यकताबारे मन्त्रालय र विभागमा खुलस्त रूपमा राख्न सक्ने भन्दै मन्त्री वाग्लेले कानुनी आधारमा सम्बोधन गर्न सकिने मागलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने जानकारी दिनुभयो।
उहाँले कानुन संशोधन आवश्यक पर्ने विषयलाई सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अघि बढाउने तथा घटना दर्ता र बालबालिकाका लागि छात्रवृत्तिलगायतका विषयमा पनि काम भइरहेको बताउनुभयो।
बाढीमा बेपत्ता भएकाहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन भइरहेको छ। पीडित परिवारलाई आवश्यक सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न पनि अर्थमन्त्री वाग्लेले मन्त्रालय प्रशासनलाई निर्देशन दिनुभएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत १५ कर्मचारी परेका थिए। तीमध्ये नकुल शर्माको शव फेला परेको छ भने १४ जना अझै बेपत्ता छन्।











