काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै खरेलले पार्टीभित्रको गुट–फुट अन्त्य गर्दै कांग्रेसको खस्किएको साख पुनःस्थापित गर्न आफूले भूमिका खेल्ने दाबी गरे। संवैधानिक निकायमा हुने दलीय भागबन्डा अन्त्य गर्नुपर्ने र बीपी कोइरालाका विचार तथा सिद्धान्तलाई आत्मसात् गर्दै काम गरेर देखाउने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
खरेलले आफ्नो लामो राजनीतिक यात्रा, पाँचखाल नगरपालिकामा दुई कार्यकालमा भएका काम तथा पार्टी संगठन निर्माणमा पुर्याएको योगदानका आधारमा महाधिवेशन प्रतिनिधिले आफूलाई रोज्ने विश्वास व्यक्त गरे।
खरेल २०४६ सालमा बाल कांग्रेसबाट राजनीतिमा सक्रिय भएका थिए। त्यसपछि २०४९ सालमा नेपाल विद्यार्थी संघ क्षेत्र नं. १, काठमाडौंको उपाध्यक्ष, जनसम्पर्क समिति अमेरिकाको सदस्य–सचिव, नेपाल तरुण दलको केन्द्रीय सदस्य (२०६९) हुँदै नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ का क्षेत्रीय सभापतिका रूपमा काम गरिसकेका छन्।











