सोमबार, आश्विन १९, २०८३
बालेनको व्यंग्यमा बाँस्कोटाको झटारो : ‘गगनलाई नयाँ दल भनेर त्यति सारो नहेपेको भए हुन्थ्यो’

काभ्रे । प्रधानमन्त्री बालेन शाहले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै गरेको व्यंग्यको एमाले नेता गोकुल बाँस्कोटाले पनि कडा शैलीमा जवाफ फर्काएका छन्। बालेनले थापालाई ‘नयाँ पार्टी’ भन्दै कटाक्ष गरेपछि बाँस्कोटाले प्रधानमन्त्रीकै राजनीतिक टिप्पणीमाथि प्रश्न उठाउँदै ‘गगनलाई नयाँ दल भनेर त्यति सारो नहेपेको भए हुन्थ्यो’ भन्दै व्यंग्य गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा थापाले संसद् खुल्न नसकेको विषयमा प्रधानमन्त्री बालेनमाथि टिप्पणी गरेका थिए। त्यसको जवाफमा बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’
बालेनको यही कटाक्षमाथि बाँस्कोटाले अर्को राजनीतिक झटारो हानेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक तिहाइ कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ पुराना दलका मिलन बिछोडका रमाइला आवाज गुन्जिएका थिए। तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति सारो नहेपेको भए हुने थियो।’

बालेन र थापाबीचको जुहारीमा बाँस्कोटाको प्रवेशसँगै सामाजिक सञ्जालमा राजनीतिक व्यंग्य थप तातेको छ। प्रधानमन्त्रीको एक टिप्पणीमाथि एमाले नेताले दिएको यो प्रतिक्रियाले सत्ता, कांग्रेस र एमालेबीचको राजनीतिक वाक्युद्ध अब सामाजिक सञ्जालमै थप धारिलो बन्दै गएको संकेत गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय