काठमाडौँ । युवा नेता सुशील भट्टले नेपाली कांग्रेसको ३५ वर्षमुनिको युवा समूहबाट खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि चयन भएका भट्टले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
भट्टले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। उनले आफ्नो उम्मेदवारीमा इमानदार कांग्रेस कार्यकर्ताको विश्वास, परिवर्तन चाहने युवाको आवाज तथा अग्रज पुस्ताको अनुभव र मार्गदर्शन रहेको उल्लेख गरेका छन्।
आफूलाई कांग्रेसको ‘जरासँग’ तुलना गर्दै उनले पार्टीलाई बलियो बनाउन आफूले माटोमुनि बसेर काम गर्ने बताएका छन्। ‘म जरा नै रहिरहूँ, कांग्रेसको रुख अझ बलियो बनोस्,’ भट्टले भनेका छन्।
उनले आफ्नो उम्मेदवारी कुनै एक पुस्तामा सीमित नभएको बताएका छन्। ‘बा’देखि युवासम्म र दाइदेखि एआईसम्मलाई जोड्ने डिभाइस बन्न चाहेको उल्लेख गर्दै उनले परम्पराको सम्मान गर्दै परिवर्तनको बाटो रोज्ने अभियान आफ्नो उम्मेदवारी भएको बताएका छन्।
‘अब कांग्रेसलाई केवल इतिहास सम्झिने होइन, इतिहास बनाउने पुस्तासँगै अघि बढाउने समय हो,’ भट्टले भने। भट्टले आफ्नो उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूको माया, विश्वास, साथ र शुभेच्छाबाट अनुमोदन गरिदिन अपिल गरेका छन्।
नेविसंघको ‘जहाँ स्कुल, त्यहाँ नेविसंघ–२०६५’ अभियानमा समेत काम गरेका भट्ट ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेविसंघ इकाइका पूर्वसभापति हुन्। उनी कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का २०६७ सालका क्षेत्रीय सदस्य, २०७३ सालमा नेविसंघका निर्वाचित केन्द्रीय सदस्य, कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य र परिवर्तन अभियानका संस्थापक अध्यक्षसमेत हुन्।











