काभ्रे । नेपाली मौलिक धर्म, संस्कृति, संस्कार तथा वैदिक सनातन परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै युवा पुस्तामा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले काभ्रेको बनेपामा ‘श्री सङ्कीर्तन महोत्सव २०८३’ आयोजना हुने भएको छ।
श्री वैष्णव युवा परिषद्, काभ्रे तथा वैदिक अनुसन्धान फाउन्डेसनको संयुक्त आयोजनामा आगामी असोज २५ गते बनेपा नगरपालिका–८ स्थित लायकु मञ्चमा महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव दिउँसो १ बजेदेखि सुरु हुनेछ।
महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था श्री वैष्णव युवा परिषद् र वैदिक अनुसन्धान फाउन्डेसनका अध्यक्ष आचार्य नारायण प्रपन्नले जानकारी दिँदै नेपाली मौलिक धर्म, संस्कृति, संस्कार र वैदिक सनातन परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए।
उनले आधुनिक जीवनशैली र तीव्र सामाजिक परिवर्तनका कारण युवा पुस्ता मौलिक धर्म, संस्कृति तथा आध्यात्मिक परम्पराबाट टाढिँदै गएको अवस्थामा सङ्कीर्तन, भजन तथा सांस्कृतिक कार्यक्रममार्फत उनीहरूलाई आफ्नो मौलिक पहिचानसँग जोड्ने प्रयास गरिएको बताए। महोत्सवले आध्यात्मिक चेतना, नैतिक मूल्य, सामाजिक सद्भाव र आपसी एकतालाई समेत प्रवर्द्धन गर्ने उनको भनाइ थियो।
महोत्सवमा बृहत् भजन तथा सङ्कीर्तन, राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति र धार्मिक एवं आध्यात्मिक कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ। कार्यक्रममार्फत युवापुस्ता, विद्यार्थी, धर्मगुरु, संस्कृतिप्रेमी तथा आमसमुदायलाई एकै ठाउँमा सहभागी गराई धर्म, संस्कृति र सनातन परम्पराप्रति सकारात्मक भावना जागृत गर्ने लक्ष्य राखिएको छ।
आयोजकका अनुसार महोत्सवले नेपाली मौलिक धर्म, संस्कृति र वैदिक ज्ञानको संरक्षणसँगै स्थानीय तथा राष्ट्रिय कलाकारलाई आफ्नो कला, प्रतिभा र सिर्जना प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्नेछ। साथै, सामाजिक विकृति र विसङ्गतिविरुद्ध सकारात्मक सोचको विकास, धार्मिक सहिष्णुता, भाइचारा र सामाजिक एकता अभिवृद्धिमा समेत महोत्सवले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसैगरी, वैदिक अनुसन्धान फाउन्डेसनले काभ्रेको साँगा–धुलिखेल क्षेत्रभित्र नेपाली प्यागोडा तथा दक्षिण भारतीय वास्तुशैलीको समन्वयमा मन्दिर तथा धामसहितको वैदिक अनुसन्धान केन्द्र स्थापना गर्ने दीर्घकालीन योजना अघि सारेको छ। उक्त केन्द्रलाई वेद, संस्कृत, दर्शन तथा सनातन संस्कृतिको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने परिकल्पना गरिएको अध्यक्ष प्रपन्नले जानकारी दिए।
महोत्सवलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था, धर्मगुरु, कलाकार, समाजसेवी, सञ्चारकर्मी तथा आमसमुदायलाई सहयोग र सहभागिताका लागि आयोजकले आह्वानसमेत गरेको छ।
महोत्सवले धार्मिक तथा सांस्कृतिक जागरणसँगै युवा पुस्तामा आध्यात्मिक चेतना, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।











