काठमाडौँ । नागढुंगा सुरुङमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनले आजदेखि अनिवार्य रूपमा टोल शुल्क तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार शुल्क कार्यान्वयनमा ल्याएको जनाएको छ।
सवारीसाधनको वर्गअनुसार हलुका सवारीसाधनलाई काठमाडौं प्रवेशमा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ। मिनी बस तथा मिनी टिपर/ट्रकलाई ११५ र ८० रुपैयाँ तथा बस र सिंगल रियर एक्सल ट्रकलाई २६० र २०० रुपैयाँ तोकिएको छ।
मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि भने काठमाडौं प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।


