आइतबार, कार्तिक २२, २०८३
कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन, बिहान कुकुर पूजा र बेलुका लक्ष्मीपूजा गर्नुपर्ने

काठमाडौं । तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकैदिन परेको छ । आज बिहान कुकुरको पूजा गरी बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहारमा कुकुरलाई मीठा परिकार खुवाएर पूजा गर्ने धार्मिक परम्परा छ । यमराजको ढोकामा द्वारपालका रूपमा श्याम र सबल नामका दुई कुकुर रहने र उनीहरूलाई खुसी बनाए मृत्युपछि यमलोक जाँदा बाटो सहज हुने धार्मिक विश्वास छ ।

कुकुरलाई आज्ञापालक तथा सुरक्षाका दृष्टिले भरपर्दो जनावरका रूपमा सम्मान गर्दै पूजा गर्ने चलन छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन बिहानै नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी बलेको बत्ती दक्षिणतर्फ फर्काएर बगाउने परम्परा छ । यसो गर्दा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

समितिका अनुसार गाईपूजा कात्तिक २३ गते सोमबार, गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको छ ।

यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार मनाइनेछ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटलाई निर्धारण गरेको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय