काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।
वित्तीय प्रणालीमा अधिक तरलताको समस्या बढ्दै गएपछि केन्द्रीय बैंकले तीन महिनाका लागि उक्त रकम खिच्न लागेको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले प्रस्ताव गर्ने न्यूनतम ब्याजदरलाई प्राथमिकता दिँदै बोलकबोल प्रक्रियामार्फत रकम संकलन गर्नेछ। उक्त रकमको साँवा तथा ब्याज आगामी फागुन ५ गते भुक्तानी गरिने बैंकले जनाएको छ।
चाडपर्वका समयमा रेमिट्यान्स आप्रवाह र आर्थिक गतिविधि बढ्ने भएकाले बैंक तथा वित्तीय संस्थामा तरलता वृद्धि हुने गर्दछ। विगतदेखि नै अधिक तरलताको अवस्थामा रहेको वित्तीय प्रणालीमा चाडपर्वका बेला भित्रिएको रेमिट्यान्सले थप तरलता बढाएको हो।

