मंगलबार, मंसिर ०१, २०८३
काभ्रेका रिसोर्टमा चिनियाँ नागरिकको गतिविधिमाथि प्रहरीको निगरानी, ३६ जना नियन्त्रणमा

काभ्रे । काभ्रेपलाञ्चोकका विभिन्न रिसोर्टमा चिनियाँ नागरिकहरू ठूलो रकम भाडा तिरेर बस्दै आएको विषय सार्वजनिक भइरहेका बेला पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ।

पाँचखाल नगरपालिका–७ मा रहेको उक्त रिसोर्टबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र ५ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिनुभयो।

चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा केही थान ल्यापटप र मोबाइलसमेत फेला परेका छन्।

प्रहरीका अनुसार रिसोर्टका दुईवटा कोठा शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि सीआईबीको टोली बोलाइएको छ।

यसैबीच, धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय