काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ‘र्यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने १०७ मिलियन अमेरिकी डलरबराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, भोटेकोसी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।
बैठकका अन्य निर्णयमा नेपालभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्ने आदेश जारी गर्ने, राष्ट्रिय जैविक विविधता रणनीतिक कार्ययोजना २०२६–३० स्वीकृत गर्ने र ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ स्वीकृत गर्ने रहेका छन्।
यसैगरी, मन्त्रिपरिषद्ले राष्ट्रिय झोलुंगे पुल नीति २०८३ समेत स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।

