आइतबार, मंसिर ०६, २०८३
एनपीएल फाइनल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले मार्ला बाजी?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। अघिल्लो संस्करणका फाइनलिस्ट यी दुई टोली फेरि उपाधिका लागि आमनेसामने हुन लागेका हुन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने योजनामा मैदान उत्रिनेछ।

अघिल्लो संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो। यसपटक सुदूरपश्चिमसँग पुरानो हारको बदला लिने अवसर छ।
यस सिजनको प्रदर्शन र आपसी प्रतिस्पर्धामा लुम्बिनी केही बलियो देखिएको छ। लिग चरण र पहिलो क्वालिफायरमा भएका दुवै भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको थियो।

लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। सुदूरपश्चिम १० अंकसहित दोस्रो स्थानमा रह्यो। पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

लुम्बिनीको बलियो पक्ष ब्याटिङ
निरोशन डिकवेला, रोहित पौडेल र आसिफ शेखजस्ता ब्याटर लुम्बिनीका मुख्य हतियार हुन्। विशेषगरी डिकवेलाको आक्रामक ब्याटिङले टोलीलाई बलियो बनाएको छ। बलिङतर्फ रुबेन ट्रम्पलम्यानको प्रदर्शन महत्त्वपूर्ण हुनेछ।

अघिल्लो संस्करणको उपाधि जितेको अनुभव र नेपाली तथा विदेशी खेलाडीबीचको राम्रो तालमेल पनि लुम्बिनीका बलिया पक्ष हुन्।

सुदूरपश्चिमको भरोसा दीपेन्द्र र मन्से
सुदूरपश्चिमका लागि जर्ज मन्से र कप्तान दीपेन्द्रसिंह ऐरी मुख्य खेलाडी हुनेछन्। स्कट कुग्लाइन, फाबियन एलेन र थारिन्दु रत्नायकेबाट पनि टोलीले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।

सुदूरपश्चिमले यसअघि लुम्बिनीसँगका दुवै खेलमा ब्याटिङमा संघर्ष गरेको थियो। त्यसैले फाइनलमा शीर्षक्रमका ब्याटरले जिम्मेवारीपूर्वक खेल्नु आवश्यक देखिन्छ।

पावरप्ले बन्न सक्छ निर्णायक
फाइनलमा पहिलो ६ ओभरको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ। लुम्बिनीले सुदूरपश्चिमविरुद्ध पहिलो भेटमै पावरप्लेमा विकेट नगुमाई ७० रन बनाएको थियो।

तर पहिलो क्वालिफायरमा सुदूरपश्चिमले पावरप्ले सकिँदा २० रनमै तीन विकेट गुमाएको थियो। फाइनलमा पनि सुरुवाती विकेट जोगाउन नसके सुदूरपश्चिमलाई दबाब बढ्नेछ।

कसले जित्ला उपाधि?
सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित भएको टोली यसपटक पहिलो उपाधिको खोजीमा छ।
यता लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्दै एनपीएलमा नयाँ इतिहास बनाउने लक्ष्यमा छ।

समग्र प्रदर्शन र यस सिजनको आपसी नतिजाका आधारमा लुम्बिनी केही बलियो देखिए पनि फाइनलमा सुदूरपश्चिमले नतिजा उल्टाउन सक्ने सम्भावना उत्तिकै छ। त्यसैले दुवै टोलीबीचको उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय